ब्यवसाय गर्ने समय नकुर्न महतोको आग्रह

पोखरा,३० पुस । गैर आवासीय नेपाली संघ( एनआरएन)का संंस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ब्यवसाय सुरु गर्ने समय नकुर्न र तत्काल ब्यवसायमा लगानी गर्न ब्यवसायीहरुलाई आग्रह गरेका छन् । ‘समस्या नभएको देश कहाँ छ र ?’, पोखरा उद्योग बाणिज्य संघले मंगलबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने,‘ कुनै दिन राम्रो हुन्छ भनेर पर्खनुभयो भने त्यो दिन कहिल्यै आउँदैन ।’ उनले सन् १९९० तिर रसियामा आफूले ब्यवसाय सुरु गर्दा त्यहाँको अवस्था नेपालको द्धन्द्धकालीनभन्दा पनि गए गुज्रेको भएको स्मरण पनि गरे ।

पर्याप्त पूँजी भएका विदेशीहरु अवसरको खोजीमा रहेका र उनीहरुले लगानी गर्न थालेपछि मध्यमवर्गीयहरुलाई लगानी गर्न नै कठिन हुने यथार्थप्रति सचेत रहनुपर्नेमा उनको जोड थियो । नेपालमा विद्युत, पर्यटन, शिक्षा, कृषि लगायतका जुनसुकै क्षेत्रमा लगानी गरे पनि सफल भइने उनको तर्क थियो । सडक, बिजुली लगायतका पूर्वाधार निर्माण सरकारको दायित्व भएको र बाँकी आर्थिक उन्नतिको जिम्मा ब्यवसायीकै भएको बताउँदै उनले सामूहिक लगानीको भावना विकास गर्न ब्यवसायीहरुसँग आग्रह गरे ।

ब्यवसायीको सफलताको मापक नै पैसा कमाउनु हो भन्दै उनले पैसा कमाएपछि त्यो समाजमा गरीब र असहाय पनि छन् भन्ने बिर्सन नहुनेमा उनको जोड थियो । गैर आवासीय नेपालीहरु विभिन्न परियोजनामा लगानी गर्न तयार रहेको जानकारी दिँदै उनले त्यस्ता परियोजना भए छलफल गर्न सकिने उनको भनाई थियो । दुई चारवटा घरानासँग मात्र पूँजी थुप्रने हो भने देश अगाडि नबढ्ने जिकिर गर्दै उनले भने–‘ देश विकासको लागि मध्यमवर्गकै विकास हुनुपर्छ ।’ उनले पोखराको प्राकृतिक सुन्दरताको प्रशंसामा पनि केही समय खर्चिए ।

‘ पोखरामा प्रकृतिले दिएको संभावना छ’, उनले भने,‘ त्यसैले यहाँका हरेक व्यक्ति ब्यवसायी बन्नुपर्ने हो ।’ कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले पोखरामा लगानीका प्रसस्त सम्भावना रहेकोले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलगायतका क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरे । कार्यक्रममा पोखरा पर्यटन परीषदका अध्यक्ष सूर्य भुजेल, पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्मा, पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य विश्वशंकर पालिखे लगायतले मन्तब्य राखेका थिए ।

कमेन्टहरु
Loading...