पोखरामा छालाजुत्ता तथा हस्तकला मेला हुने, १५ देखि ७० प्रतिशत छुट

पोखरा, १३ फागुन /पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला २०७३ हुने भएको छ । आइतबार सुरु हुने मेला फागुन २९ गतेसम्म जारी रहनेछ । कास्की पोखरा हस्तकला संघ पोखरा र नेपाली जुत्ता घर प्रालि काठमाडौंको संयुक्त आयोजनामा मेला हुन लागेको हो ।

उद्यमशीलतालाई प्रवद्र्धन गर्दै नेपाली उत्पादनको बजारीकरण गर्न मेला सफल हुने पत्रकार सम्मेलनमा बताइयो । मेलामा पोखरा तथा छिमेकी जिल्ला देशभरका हस्तकलाका सामानहरु बिक्री तथा प्रदर्शनीमा राखिने नेपाली जुत्ता घर प्रालि, काठमाडौंका अध्यक्ष रामकृष्ण प्रसाईंले बताए । ‘नेपालका ख्यातीप्राप्त फुटवयर ब्राण्डहरुको पनि संयुक्त रुपमा बिक्री गरिनेछ,’ उनले भने, ‘नेपालका जुत्ता तथा चप्पलको सबैभन्दा ठूलो बिक्री कक्षको रुपमा नेपाली जुत्ताघर स्थापित छ ।’

स्वदेशी उपभोक्तालाई आम उपभोक्ताका बीचमा उत्पादकबाट सोझै पुर्याउने उद्देश्यले स्थापना गरिएको नेपाली जुत्ता घरको अहिले काठमाडौं उपत्यकामा चारवटा बिक्री कक्ष छन् । बिक्री कक्षका अलवा काठमाडौंमा हरेक वर्ष बिजनेस एक्स्पो गर्दै आएको जानकारी गराउँछौं । ‘लगातार छैटौं पटकसम्म आयोजना भएको बिजनेस एक्स्पोले अपार सफलता प्राप्त गरेका छन्,’ उनले भने, ‘लाखौं उपभोक्ताको उत्साहजनक सहभागिता रहने गरेको छ ।’

काठमाडौंको सफलता पश्चात उपत्यका बाहिर क्षेत्रीय स्तरमा जुत्ता घरलाई पुर्याउने लक्ष्य अनुरुप पोखरामा मेला आयोजना गरिएको उनले बताए । ‘उपभोक्ताको बीच स्वदेशी उत्पादन पुर्याउने लक्ष्यसहित उपत्यका बाहिर पहिलो पटक पर्यटकीय नगरी पोखरामा हामीले यो मेलालाई छनोट गरी कास्की पोखरा हस्तकला संघसँग सहकार्य गरेका छौं,’ उनले भने ।

बिजनेश एक्स्पोमा उपभोक्ताले गुणस्तरीय र आकर्षक डिजाइनका जुत्ताहरु विशेष छुटका साथ खरिद गर्न सक्नेछन् । यो मेलामा उपभोक्तालाई १५ देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा नेपालका चर्चित ब्राण्डहरु शिखर सुज, बि।एफ। डियरहिल सुज, क्रसरोड सुज, स्काई सुज, कोशेली छालाजुत्ता, सफ्ट टच, फुटल्याण्ड, सुल्याण्ड, इजी सुज, टमटेलर सुज लगायत सहभागी हुनेछन् ।

एक्स्पोमा हस्तकलाका स्टल २५ वटा र छाला जुत्ताका स्टल ५३ वटा रहने कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन् । उपभोक्ताको सुविधालाई मध्यनजर गरी चमेनागृहको पनि व्यवस्था गरिएको उनले बताइन् । मेलामा प्रवेश निःशुल्क व्यवस्था गरिएको छ ।

कमेन्टहरु
Loading...