पोखरा र मनाङ उवा संघका प्रतिनिधीबीच छलफल

पोखरा, ६ माघ/पोखरा उद्योग वाणिज्य संघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघको भ्रमणको क्रममा पोखरा आइपुगेको मनाङ उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डलसँग व्यवसाय बिस्तारका सम्भावनाहरुबारे अन्तरक्रिया सम्पन्न गरेको छ । मनाङ उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डलको स्वागतको लागि बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले हिमाल पारीको जिल्ला मनाङमा रहेका व्यवसायिक सम्भावनाहरुको खोजीको लागि निजी क्षेत्रले भूमिका खेल्नु पर्नेमा जोड दिए ।

पोखरा र मनाङ उवा संघका प्रतिनिधीबीच छलफल

२०२५ सालतिर पोखरा उद्योग वाणिज्य संघ पनि अहिलेको मनाङ उद्योग वाणिज्य संघकै जस्तो रहेको स्मरण गर्दै उनले भने–‘ जहाजबाट पोखरा आएका सामान घरघर पु¥याउने कामकै जगमा पोखरा उद्योग वाणिज्य संघ स्थापना भएको हो, अबका केही वर्षमा मनाङले पनि विकास र व्यवसायमा फड्को मार्छ ।’त्यहाँको  पर्यटन प्रवद्र्धनको लािग विशेष कार्यक्रम तथा संघको भवन निर्माणमा सघाउने वचनवद्धता पनि उनले प्रकट गरे ।कार्यक्रममा बोल्दै मनाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार श्रेष्ठले साना उद्योग वाणिज्य संघहरुलाई नेपाल उद्योग वाणिज्य महासंघले सहयोग नगरेको गुनासो गरे ।

मनाङमा कृषि, जडिबुटी, स्याउ लगायत व्यापार व्यवसायको पनि सम्भावना रहेको उल्लेख गर्दै उनले सरकारले स्पष्ट नीति सहित हिमाली जिल्लाहरुको विकासमा लाग्नु पर्नेमा जोड समेत दिए । कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले पोखरा उद्योग वाणिज्य संघले सम्पादन गरेका गतिविधीहरुबारे जानकारी दिँदै छिमेकी जिल्ला मनाङको विकासको लागि सहयोग र पैरवी गर्न पोखरा उद्योग वाणिज्य संघ सदैव तयार रहेको बताए ।

 

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीको संचालन तथा संघका कार्यसमिति सदस्य प्रेमबहादुर भुजेलको संचालन रहेको कार्यक्रममा बोल्दै मनाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोद गुरुङले मनाङलाई सडक मार्गले जोडेपछि आन्तरिक पर्यटकको उल्लेख्य वृद्धि भएको बताए । आन्तरिक पर्यटकहरु आफ्नै सुरले घुम्न निस्कने अनि मौषम र त्यहाँको बस्तुस्थितिबारे नबुझ्दा हाइ अल्टिच्यूड र बास बस्नैको समस्या हुने अवस्था आएको बताउँदै उनले भने –‘ घुम्न आउँदा होटल बुकिङ गरेर तथा मौषमको जानकारी लिएर निस्कनु राम्रो हुन्छ ।’ मनाङमा अहिले साना ठूला गरी २ सय ५० वटाजति होटल रहेका छन् । संसारकै अग्लो ठाउँमा रहेको तिलिचो ताल, अन्नपूर्ण चक्रिय पदयात्रा मार्ग तथा सोही बाटोमा पर्ने थोराङ पास, मनाङको पुरानो संस्कृतिले सो क्षेत्रमा पर्यटकहरु लोभिन्छन् । अन्तरक्रिया कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य चन्द्रकिशोर गौतम र हिरामणि पंडितसहित मनाङका महासचिव सदनप्रसाद द्धासहित कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...