काठमडौंवासीलाई फेवा महोत्सवको निम्ता

काठमाडौं, २३ चैत / पोखराको वसुन्धरा पार्कमा चैत २९ गतेदेखि आगामी वैशाख २ गतेसम्म संचालन हुन लागेको दशौं फेवा नव वर्षमा सहभागी हुन पश्चिमाञ्चल होटल संघ पोखराले काठमाडौंवासीलाई आमन्त्रण गरेको छ । संघले विहिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंवासी र समस्त नेपालीलाई त्यस्तो निम्ता प्रदान गरेको हो ।

पत्रकार सम्मेलनमा महोत्सवका संयोजक विकल तुलाचनले फेवा तालको संरक्षणलाई ध्यान दिंदै आयोजना गरिन लागेको महोत्सवले मुख्य गरी आन्तरिक पर्यटकलाई बढी महत्व दिन लागेको जानकारी दिए । उनले महोत्सवमा सांस्कृतिक समूहहरुको झाँकी, देशविदेशका परिकारहरुको महोत्सव र पर्यटकीय गतिविधिहरु समेटिने जानकारी दिए ।

यसैगरी संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले महोत्सवले पोखरा र समग्र नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताउँदै राजधानीवासीको भव्य सहभागिताले महोत्सव सफल बनाउन ठूलो भूमिका खेल्ने बताए । महोत्सवमा आन्तरिक पर्यटकका लागि खानामा १० प्रतिशत र आवासमा ३० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको समेत उनले जानकारी दिए । संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले फेवा ताल संरक्षणको मुख्य उद्धेश्य बोकेर महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

यसैगरी अंग्रेजी नयाँ वर्षलाई पछिल्ला वर्षहरुमा निकै जोड दिएर मनाउँदै आइएकोमा आफ्नै नेपाली नयाँ वर्षलाई झन् भव्य र सभ्य रुपमा मनाउन महोत्सव आयोजना गर्न लागिएको बताए । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने अभियानमा समेत महोत्सवले सघाउने विश्वास आयोजक संस्थाले लिएको छ ।

पाँच तारे होटलहरुदेखि गाउँ घरमा पाइने खानाका परिकारहरु, विविध सांस्कृतिक गतिविधि, राष्ट्रिय दोहोरी गीत, सांगीतिक बैंण्डहरुको प्रस्तुती र बाल उद्यान महोत्सवका आकर्षण रहेका छन् । महोत्सवमा १५ वटा खानाका स्टल र ४५ वटा अन्य विभिन्न खालका पर्यटन, कृषि, संस्कृति एवं व्यापारिक स्टलहरु रहने छन् । महोत्सवबाट अनुमानित ४१ लाख १५ हजार रुपैयाँ आम्दानी र ३९ लाख १५ हजार रुपैयाँ खर्च भई दुई लाख ३५ हजार रुपैयाँ वचत हुने अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...